Advertisement

‘निर्वाचन पर्यवेक्षणको नाममा अवाञ्छित गतिविधि हुनसक्छन्, सचेत रहनुपर्छ’ – Makalu Khabar : makalukhabar.com

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन पर्यवेक्षण गर्न आउने संस्था तथा व्यक्तिहरूले निहित स्वार्थपूर्तिका गतिविधि गर्न सक्ने बताएका छन् ।

गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उनले आयोगबाट अनुमति लिएर निर्वाचन पर्यवेक्षणमा खटिएका व्यक्तिहरूको गतिविधिमाथि निगरानी गरिदिन संचारमाध्यामलाई आग्रह गरे ।

उनकाअनुसार विदेशी तथा स्वदेशी दुवै संस्थाका प्रतिनिधिहरू निर्वाचन पर्यवेक्षणमा सहभागी हुनेछन् । विदेशी संस्थाबाट उच्च पदस्थ व्यक्तिहरू, साथै विभिन्न देशका निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरू समेत नेपाल आउने उनले जानकारी दिए । उच्च पदस्थ व्यक्तिबाट अनुचित गतिविधि नहुने भएपनि अन्य व्यक्तिहरूप्रति भने सचेत रहनुपर्नेमा जोड दिए ।

केही व्यक्तिहरूले पर्यवेक्षणको नाममा मतदान स्थलमा पुगेर मतदान अधिकृतसँग अनावश्यक प्रश्न सोध्ने, मतदान प्रक्रियामा क्षणिक अवरोध सिर्जना गर्ने वा निर्वाचनलाई प्रभावित पार्ने प्रयास गर्न सक्ने बताए । यदि कसैले पर्यवेक्षणका नाममा मतदान प्रक्रियामा असर पार्ने प्रयास गरेको देखिएमा तत्काल त्यस विषयमा समाचार सम्प्रेषण गरिदिन उनले सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

उनले विगतमा भएको निर्वाचनमा केही विदेशी संघ–संस्थाले पर्यवेक्षणको आवरणमा मतदातालाई विशेष चुनाव चिन्हमा मतदान गर्न वा नगर्न प्रचार गरेको तीतो अनुभव रहेको सुनाए ।

उनले भने ‘हामीले अनुमति दिएर पर्यवेक्षण गर्न गएका निर्वाचन पर्यवेक्षक व्यक्तिहरू पनि हुनुहुन्छ । त्यहाँ पनि नजर पुर्याइदिन मैले आग्रह गरे । किनभने कोही यो निर्वाचन पर्यवेक्षण गर्नेका नाममा निर्वाचन पर्यवेक्षक गर्न अनुमति लिएर व्यक्तिगत स्वार्थको लागि निर्वाचनको समयमा केही तलमाथि गर्न सक्नेछन् । उहाँहरूले केही भन्दिनुहुन्छ की, केही बोल्दिनुहुन्छ की भन्ने मामिलामा पनि आयोग सचेत छ । निर्वाचन पर्यवेक्षणमा उहाँहरू जान पाउनुहुन्छ, यसमा विदेशी र स्वदेशी दुवै संस्थाहरू छन् । विदेशीका उच्च पदस्थ व्यक्ति तथा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरू पनि हुनुहुन्छ । उच्च पदस्थ व्यक्तिहरूले त केही गर्नुहुन्न । तर अन्य पर्यवेक्षण गर्न आउने व्यक्तिहरूले कहीँ उहाँहरूले उद्देश्य पूर्ति गर्नलाई हाम्रो मतदान स्थलमा पुग्ने, मतदान अधिकृतको छेउमा गएर विभिन्न प्रश्न सोध्ने र निर्वाचनलाई एकै छिनलाई भएपनि असर पारौँ न त भनेर लागि पर्ने जस्तो देखियो भने तत्कालै यहाँहरूले त्यस विषयमा समाचार सम्प्रेषण गरिदिनुभयो भने आयोगलाई ठुलो गुण हुनेछ । ती विषयहरू तत्काल सम्बोधन गरिहाल्ने पनि मैलै विश्वास दिलाउन चाहे । यो मैले किन भनिरहेको छु भने हामीसँग तीतो उदाहरण पनि छ, केही विदेशी सङ्घसंस्थाहरूले निर्वाचन पर्यवेक्षणका नाममा उहाँहरूको उद्देश्य पूरा गर्ने प्रयोजनका लागि फलानो मत चिन्हमा भोट हाल्नुहोस्, फलानोमा नहाल्नुस् भनेर प्रचार गरेको पहिलाको पनि इतिहास छ ।’

उनले फागुन २१ गते हुने लागेको निर्वाचन नियमित आवधिक निर्वाचन भन्दा फरक किसिमको रहेको पनि उल्लेख गरे । आगामी निर्वाचनले ट्र्याक बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउने भएकोले पनि स्वच्छ, भयरहित र स्वतन्त्रपूर्वक मतदान सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा मतदानको लागि नागरिक पनि उत्सुक रहेको दाबी गरे ।

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2026. All right reserved. Loktantra TV News Website Design by E- MEDIA Web & App - 7999906109
error: Content is protected !!